Tuesday, February 15, 2011

नेपालीमा ब्लग लेखन र ब्लग भेला, एक अनुभव

       यो टाँसो दैंतरीमा (dautari.org) नेपाली ब्लग भेलामा मैले राखेका कुराहरुलाई क्रमबद्ब गरेको मात्र हो ।
       मेरो ब्लग खोल्नुको उद्धेश्य, मैले रचना गरेका टुक्रा-टुक्री साहित्य पस्कनु र लेखाइमा निखार ल्याउनु थियो । तर, एक त नेपालीमा टाइप गर्नुको झर्को, टाइप गरिहालेपनि कापीमा लेखे जस्तो ह्रस्व-दीर्घ मिलाउन अनी स्क्रिनमा शुद्ध बर्ण उतार्नको कठिनाईले गर्दा आफ्नो लेख आँफैलाई अनौठो लाग्ने भएकोले नेपाली लेखलाई निरन्तरता दिन सकेन । यसकारणले अनियमित नै भएपनि अङ्रेजीमै बिशेष गरी कम्प्युटर, बिज्ञान तथा प्रविधी परिधिका तथा केही अनुभवका लेख लेखेर भए पनि उपस्थिती जनाइरहे । अशुद्ध लेख्नु भन्दा नलेख्नु नै बेश भन्ठानेर बसे पनि कहिले-काँही चाँही लेख्न खसखस लाग्ने रहेछ । अङ्रेजीको आफ्नो लेखमा व्याकरण अशुद्ध भएपनि अङ्रेजी आफुले त्यती नजान्ने भएकोले आँफैले पढ्दा त्यती अनौठो लाग्दैन ।
       नेपालीद्वारा लेखिएका सयौं ब्लग भए पनि आफ्नै मौलिकताले भरीएका र नियमित हुने (महिनामा कम्तिमा १ लेख) त २०-२२ वटा मात्र पाएको छु, जसको म नियमित पाठक हुँ । तर त्यसमध्ये पनि सदैव शुद्ध र व्याकरण मिल्ने लेख हुने त जम्मा ८-१० वटा मात्र भए जस्तो लाग्छ । त्यस्तै झिलिमिली बनाएका ब्लगहरु पनि धेरै छन्, जुन खुल्न धेरै समय लाग्छ किनकी नेपाल मा अझै पनि सुस्त गतिकै ईन्टरनेट छ । साथै नेपाली ब्लगको संख्यात्मक भन्दा पनि मौलिकतामा र रचनात्मक लेखमा ध्यान पुर्‍याउनु पर्ने जस्तो देखिन्छ । blogger.com.np त्यस्तै अरु वेबसाईटमा सम्पूर्ण नेपाली ब्लगरहरुको नामाँकन त छ । तर, कुन बिषय बस्तु मा लेखिएको हो, समुह छैन । त्यसैले, विकीपिडीयामा नेपाली ब्लगको जानकारी, गुगल समूह वा अरु कुनै वेबसाईट बनाएर नेपाली ब्लगरहरुको बिषयसुचीको आधारमा समूह पनि बनाउन पहल गर्ने कि ? जस्तो समाचारमुलक, कथा, साहित्य, बिज्ञान, प्रविधी, अर्थ, राजनैतीक ब्लग इत्यादी.
       अर्को कुरा, प्राय: ब्लगहरुमा समाचारहरुमात्र (अथवा कुनै सामाग्री भए), त्यो पनि अरुको चोरी गरेर लेखिएका छन्, मलाई त्यस्ता ब्लग खोल्नै मन लाग्दैन । अरुको चोरी गर्ने र कपी पेस्ट गर्ने ब्लगहरु त म आजकाल बहिस्कार गरेको छु, ति ब्लग मैले खोल्दै खोल्दैन; त्यसैले सबै जनाले नखोल्दिए-नहेर्दिए ती चोरी गर्नेहरु निरुत्साहित हुन्थे कि ? बिज्ञापन हेरिदिएर सहयोग गरे जस्तै शुद्ध लेख्न पनि सुझाव र प्राविधिक सहयोग गरिदिए, अनी लिंक साटासाट गरिदिए पनि नेपाली ब्लग प्रवर्दनमा सहयोग पुग्ने थियो ।
       सोख नहुने हो भने त ब्लग लेख्न सार्है झन्झटिलो र पट्यारिलो काम हो । नियमित र रचनात्मक नेपाली लेख ब्लग मार्फत ईन्टरनेटमा उपलब्ध गराइदिनुहुने सम्पूर्ण नेपाली ब्लगरहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

No comments:

Post a Comment